Wednesday, August 27, 2014

दलित कर्मचारीलाई बाहिर निकालेर दर खुवायो

पाल्पा, भदौ ११ – विद्युत् प्राधिकरण पाल्पाद्वारा तीजको अवसरमा आयोजित दर खाने कार्यक्रममा दुई दलित महिला कर्मचारीलाई ढोकाबाट बाहिर निकालेर खीर खुवाइएको छ । प्राधिकरण पाल्पा शाखाले महिला कर्मचारीलाई तीजको अवसरमा दर खुवाउने कार्यक्रममा दुई दलित महिलालाई कार्यालय प्रमुखको निवास कक्षबाट बाहिर निकालेर दर खुवाइएको पीडितको गुनासो छ । विद्युत् प्राधिकरण कार्यालय पाल्पा शाखा सुपरभाइजर कृष्ण रायमाझीले कार्यालयका दुई सहयोगी देवी नेपाली र रामकुमारी दमाइकीलाई तपाइँहरूले ढोकाबाट बाहिर जानुहोस् यहाँ त सरहरू बस्न प–यो भनेर बाहिर जुत्ता राख्ने ठाउँमा पठाएर छुवाछूतजन्य व्यवहार गरेको पीडित देवी नेपालीले बताए । यता आरोपित कृष्ण रायमाझीले बस्ने कुर्चीको अभावमा उहाँहरूलाई बाहिर पठाएको दाबी गर्नुभयो । छुवाछूतका आधारमा आफूले त्यस्तो व्यवहार नगरेको रायमाझीले दाबी गरे पनि पीडित महिला नेपाली आफूमाथि जातभातका आधारमा छुवाछूत गरेको बताए । कार्यालय प्रमुख नवलकिशोर रोहितले महिला दलित कर्मचारीलाई जातीय आधारमा बाहिर पाउने नियत नभएको जिकीर गरे ।


Monday, August 25, 2014

इनार र धारा छुनसमेत पाउँदैनन् डोम समुदाय


पैसा दिएर पानी भर्न लगाउनुपर्छ
सिराहा : लालपुरका डोम (मल्लिक) परिवारले अझै पनि पानी भर्न धारा र इनार प्रयोग गर्न पाउँदैनन्। कसैले दया गरेर भरिदिए मात्रै उनीहरूले पानी पाउँछन्। गाउँकै देवनाथ साहको इनारमा राखेको मोटरबाट दयामायाले पानी पाउने गरेको लालपुर १ का दुर्गी मल्लिकले बताए। उनले भने, ‘साहका परिवारले पानी भरिदिनुहुन्छ। त्यही पानीले काम चलाउँदै आएका छौं। त्यहाँ पनि हामीले इनार र मोटर भने छुन पाउँदैनौं।’
पानी दिएबापत महिनाको दुई सय ५० रुपैयाँ साहलाई बुझाउने गरेको दुर्गीले बताए। उनले भने, ‘घरनजिक अर्को इनार भए पनि हामीले त्यहाँबाट पानी तान्न पाउँदैनौं। इनारवरपर कोही ‘माथिल्लो’ जातका भए पानी भरिदिन अनुरोध गर्छौं, नभए ‘ठूला’ जातका केटाकेटीलाई पाँचदस रुपैयाँ दिएर पानी भर्न लगाउँछौं।’
पाँच वर्षअघिसम्म दहको पानी पिउँदै आएका डोम परिवारका सदस्यहरूलाई २०५५ सालमा फन्ड बोर्ड काठमाडौंले इनार दिएपछि त्यही इनारको पानी प्रयोग गर्दै आएका थिए। तर दुई वर्षदेखि इनारको पानी पनि सुकेपछि समस्या झेल्नुपरेको उनीहरूले बताए।
त्यसैगरी लालपुर ४ का धनेशर मल्लिकका परिवारले पनि यस्तै समस्या भोग्दै आएका छन्। उनको आफ्नै आँगनमा इनार थियो तर अहिले इनार सुकेपछि पानीको समस्या झेल्नुपरेको छ। इनार सुकेपछि गाउँका अरू इनारमा गएर कसैले भरिदिएमात्र आफूले पानी पाउने धनेशरले बताए। उनले भने, ‘अरूतिर केके भइसक्यो तर हामी यो ठाउँमा इनार छुनसम्म पाउँदैनौं। हाम्रो समस्या कसले सुनिदिने?’
‘अहिले खानेपानीको धारा घरमै जडान गरेको छु’, धनेशरले भने, ‘तर कहिलेकहीं धारामा पानी नआउँदा एक भाँडो पानी कसले भरिदेला भनेर बस्नुपर्ने बाध्यता छ।’ धनेशरको परिवारले पनि आफ्नो घरको इनार र धाराबाहेक गाउँको कसैको इनार र धारा छुन पाउँदैनन्।
उनले भने, ‘चारपाँच वर्षअघि पानी भर्दा इनार छोएको निहुँमा बुबालाई गाउँलेले पाता कसेर कुटपिट गरी जरिबाना गरेपछि इनार र धारा छुने हिम्मत आएन।’ यता अयोध्यानगरका कामेश्‍वर मल्लिकले भने आफ्नो गाउँमा सँगै पानी भर्न नपाए पनि पालो कुरेर इनारमा पानी भर्न दिने गरेको बताए। उनले भने, ‘हाम्रो गाउँमा पनि पहिला यस्तै थियो। छलफलपछि अहिले इनारमा आफैंलाई पानी भर्न दिने गरिएको छ।’
सिराहामा अल्पसंख्यक मल्लिकको जनसंख्या करिब तीन हजार छ। उनीहरू सबैले यो समस्या झेल्दै आएको मरिकका अगुवा रामचन्द्र मरिकले बताए। उनका अनुसार सिराहामात्र हैन, तराईमा रहेका सबै मल्लिकले यो समस्या झेलिरहेका छन्।
उनले भने, ‘जुनसुकै व्यवस्था आए पनि दलितमा अति पिछडिएका मरिकले पिउने पानी भर्नसमेत पाउँदैनन्।’ मरिकले समाजमा आत्मसम्मानपूर्वक घुलमिल हुने स्थिति अझै बनेको छैन। गाउँमै भएको खानेपानीको स्रोत सार्वजनिक इनार उपभोग गर्न पाएमात्र छुवाछूत हटेको मान्‍न सकिने उनले बताए।
दलित अधिकारका लागि संघर्षरत अधिकारकर्मी विनोद बिसुन्केले भने, ‘दुर्गी र उनको परिवारले पोखरीको फोहोर पानी पिएको देखेर गैससले इनार त बनाइदियो। तर दुर्गी नेपाल राज्यको संविधान, प्रचालित कानुन र अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको अधिकार समान हुन पाउने र आत्मसम्मान पाउने हकबाट वञ्‍चित छिन्।’
दलितमध्ये पनि तराईमा डोम जातिलाई बढी अछूत मानिन्छ। सिराहा र सप्तरीमा मात्र करिब सात सय परिवार डोमको बसोबास छ।
(source:annapurnapost.com)

Sunday, August 24, 2014

दलित विद्यार्थीको आधा छात्रवृत्ति शिक्षकले खाए


८ भदौ, भोजपुर । जिल्लाको आम्तेक गाउा विकास समितिस्थित लक्ष्मी निम्न माध्यमिक विद्यालयका विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयले पठाएको छात्रवृत्ति शिक्षकले खाइदिएका छन् ।
जिल्ला शिक्षा कार्यालयले दलित विद्यार्थीका लागि पठाएको प्रतिव्यक्ति ४ सय रुपैयाा छात्रवृत्तिबाट २ सय रुपैयाा शिक्षकले खाइदिएका हुन् ।
विद्यालय प्रशासनले दलित विद्यार्थीलाई २ सय रुपैयाा दिएर ४ सय रुपैयाँको भरपाई जिल्ला शिक्षा कार्यालयमा पठाएको हो । जिल्ला शिक्षा कार्यालय भोजपुरले २४ जना दलित समुदायका विद्यार्थीका प्रतिविद्यार्थी ४ सयका दरले ९ हजार ६ सय रुपैयाँ पठाएका थियो । जसमा ४ हजार ८ सय रुपैयाँमात्र वितरण गरेर बााकी रकम शिक्षकले खाएका हुन् ।
प्रधानाध्यापक शेरबहादुर राईले दलित समुदायका विद्यार्थीलाई विद्यायलमा निरन्तर उपस्थित गराउन आधा मात्र छात्रवृत्ति दिएको दाबी गरे । बाँकी रकम पुसमा हुने विद्यालयकोे वाषिर्कोत्सवमा वितरण गरिने उनको जिकिर थियो ।
जिल्ला शिक्षा अधिकारी वसन्त कोइरालाले पठाए जति सबै छात्रवृत्ति वितरण गरिनुपर्ने बताउँदै अनियमितता गरेको भेटिए छानविन गरी कारबाही गर्ने बताए ।  त्यसैगरी च्याङ्गे्र गाविसस्थित औलिया प्राविले दलित समुदायका विद्यार्थीलाई तोकिए भन्दा कम रकम वितरण गरेको छ । छात्रृवत्ति रकम ४ सय वितरण नगरी ३ सय ३१ रुपैयाँ मात्र वितरण भेटिएको हो ।

Monday, August 18, 2014

डेरावालको जात सोध्दा घरबेटी प्रहरीको फन्दामा, पैसा तिर्दा पनि दलित युवतीले डेरा पाइनन्



२ भदौ, काठमाडौं । तपाईको घरमा कसलाई भाडामा राख्ने वा नराख्ने अधिकार तपाईलाई नै छ । तर, कोठा दिइसकेपछि जात सोधेर ‘डेरा नदिने’ भन्नुभयो भने जेल जानुपर्ने हुन सक्छ । काठमाडौंको मध्य बानेश्वरका एक घरमालिक अहिले यस्तै फन्दामा परेका छन् ।
आफ्नो घरको एउटा कोठा भाडामा दिन राजी भएर एक महिनाको भाडावापत ३ हजार रुपैयाँसमेत लिइसकेका कृष्ण थापाको परिवारले डेरावाल युवती दलित भएकै कारण ‘हुँदैन’ भनेपछि पीडित युवती कानुनी लडाइँमा उत्रिएकी छन् ।
सामान्य महिला थिइन् भने उनी कथित ‘तल्लो जात’को पीडा बोकेर फर्किन्थिन् होला । तर, यो घटनामा पीडित युवती पत्रकार हुन् । पत्रकार पनि सरकारी सञ्चारमाध्यम रेडियो नेपालकी समाचारवाचिका कमला रसाइली ।
कानुनको सहारा
उनले यो घटना आफूलाई मात्र परेको भनेर सहनुभन्दा बाहिर ल्याएर कारवाही गराउँदा भोलिदेखि अरु घरबेटीहरु छुवाछुतप्रति सचेत होउन् भन्ने सोचेकी छन् । उनले डेरा बस्न नदिने घरबेटीविरुद्ध तीनकुने प्रहरीवृत्तमा मौखिक जाहेरी दिएकी छन् ।
Jahari-final
कमलाको लिखित जाहेरी पनि तयार छ । प्रहरीले लिखित जाहेरी लिनुअघि पीडक भनिएका घरबेटीलाई कार्यालयमा झिकाएको छ । डीएसपी रमेश तामाङले बोलाउँदा नआए पक्राउ गर्ने चेतावनी दिएपछि थापालेे प्रहरी वृत्तमा आउने बताएका छन् । थापा आएपछि लिखित जाहेरी लिएर प्रक्रिया अघि बढाइने उनले बताए ।
‘मेरो यो लडाइँ एक घरबेटीविरुद्ध होइन, कथित दलित जाति भएकै कारण डेरा नपाउने र डेराबाट निकालिने विकृति विरुद्धको पाइला हो’ कमलाले अनलाइनखबरसँग भनिन् । उनीसँग माफी मगाएर मेलमिलाप गर्ने वा कानुनी लडाइँ लड्ने दुबै विकल्प छन् ।
कमलाले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन ०६८ अनुरुप घरवेटी कृष्ण थापा र उनकी पत्नीमाथि हदैसम्मको कारवाही र क्षतिपूर्तिको माग गरेकी छन् । साथै घरभाडा वापत दिएको रकम फिर्ताको माग गरेकी छन् ।
घटना कसरी भयो ?
kamala-rasaileeरामेछापको तिल्पुङकी स्थायी बासिन्दा कमला रसाइली काठमाडौं आएप्छि ललितपुरको कुम्भेश्वरमा बस्दै थिइन् । उनले ६ महिना लगाएर एकजना साथीमार्फत मध्य बानेश्वरमा कोठा पाइन् । महिनामा ३ हजार भाडा तिर्ने गरी कोठा भाडामा लिइन् । र, भदौ १ गतेदेखि बस्ने गरी भदौको अगि्रम भाडासमेत दिइन् ।
जब डेरा सर्ने बेला भयो, घरबेटीले सोधे -नानी कोठा त दिइयो, रेडियोमा काम गर्ने मान्छेलाई दिँदा खुसी लागेको छ, जात चाहिँ के पर्‍यो कुुन्नि ? कमलाले सहजरुपमा आफू रसाइली हुँ भनिन् ।
‘यो रसाइली भनेको कुन जाति हो ?’ घरबेटीको प्रश्नमा उनले सिधै बताइन्-हामी दलित हौं । त्यसपछि भड्किएकी घरबेटी आमैले ‘पानी नचल्ने जातलाई हामी डेरा दिदैनौं, हामीले दमै कामीलाई डेरा दिने गरेको छैन’ भन्दै पूजाआजा गर्दा समस्या पर्ने र पानी छोइछाइ हुने बताउँदै डेरा दिन अस्वीकार गरिन् ।
किन यस्तो गर्नुपर्‍यो ?
आफूले देशमा गणतन्त्र आइसकेको, जातिपाति नभएको र जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो भन्दा पनि घरबेटीले आफूमाथि अपमान गर्न नछाडेको कमलाले बताइन् । ‘त्यसपछि अब मैले पनि सहेँ भने जातीय भेदभावविरुद्धको अभियान भाषणमा मात्र सीमित हुन्छ भनेर यो कदम उठाएकी हुँ’ उनले भनिन् ।
आफ्नो उद्देश्य कुनै एक घरबेटीलाई कारवाही गराउने भन्दा पनि यस्तो मानसिकता बोकेका लाखौं मान्छेलाई सचेत गराउनु रहेको कमलाले बताइन् । ‘अरुले यो घटनाबाट पाठ सिकेर जातीय भेदभाव नगरुन् भन्ने मात्रै मेरो चाहना हो’ कमलाले भनिन् ।
घरबेटीको दाबी
जातीय भेदभावलाई सामान्य सम्झिएका घरबेटी कृष्ण थापा आफूविरुद्ध कमला कानुनी लडाइमा उत्रिएपछि फन्दामा परेका छन् । उनी अहिले आफूले दलित भएकै कारण डेरा नदिएको भन्ने आरोप अस्वीकार गर्दैछन् ।
‘अर्कै भाइ बस्ने भएकाले दिन नसकिएको’ दाबी उनले गरेका छन् । तर, अर्कै भाइलाई दिएको भए उनले किन कमलासँग एक महिनाको भाडा समेत लिएर भदौ १ देखिको सम्झौता गरे ? यो प्रश्नको जवाफ उनले दिन सकेनन् ।
त्यसो त काठमाडौंमा दलित भएकै कारण डेरा नपाउने समस्या कमलाले मात्रै होइन, अन्य धेरैले व्यहोर्दै आएको समस्या हो । काठमाडौंमा उसै पनि डेरा पाउन कठिन छ, त्यसमा पनि दलित समुदायका मानिसहरुमाथि डेरामा ठूलो विभेद हुँदै आएको सो समुदायका मानिसहरु बताउँछन् ।
माफी मागे घरबेटीले
यसैबीच घरबेटी कृष्ण थापा र लक्ष्मी थापाले महानगरीय प्रहरी वृत्तको कार्यालय तीनकुनेमा पुगेर आफूहरुबाट गम्भिर गल्ती भएको भन्दै माफी मागेपछि लिखित कागज गराएर कमलाले माफी दिएकी छन् । ‘मेरो उद्देश्य उनीहरुलाई जेल पठाउन थिएन, यस्ता घटना नहुन् भनेर उनीहरु जस्तालाई सचेत गराउने हो’ उनले भनिन् ।
 प्रहरीले लिखित कागज गराएर आइन्दा कसैमाथि पनि जातीय भेदभाव नगर्ने व्यहोरामा सही गराई कमलाको अनुमतिमा छाडिदिएको प्रहरी स्रोतले जनाएको छ । कमला रसाईलीबाट भाडा बापत लिएको ३ हजार रुपैयाँ उनीहरुले फिर्ता गरेका छन् । 
- See more at: http://www.onlinekhabar.com/2014/08/180547/#sthash.Jv9G8pNl.dpuf
,

Friday, August 15, 2014

छुट्टै आरक्षण माग्दै दलित महिला



टेकेन्द्र बस्याल
बाँके, साउन २१ ।
सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुविधा दलित महिलामैत्री नभएको भन्दै जिल्लामा दलित महिलाले सरकारी कार्यालयमा छलफल सुरु गरेका छन् । कार्यालयले प्रदान गर्ने आरक्षणमुखी सेवा सुविधामा दलित महिला अटाउन नसकेको भन्दै उनीहरुले विशेष व्यवस्थाको माग राखेका छन् । विकासे र जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयका सेवा सुविधा, आरक्षणको बाँडफाडको अवस्था अध्ययन गर्दै उनीहरुले दलित महिलाका लागि छुट्टै आरक्षण हुनुपर्ने अडान राखेका छन् ।
दलित महिला संघको अगुवाईमा उच्च मावि शिक्षा परिषद् र क्षेत्रीय सिटिभिटी कार्यालयमा पुगेर उनीहरुले महिला र दलितभित्र आफूहरु नअटाएको भन्दै दलित महिलामैत्री आरक्षणको माग राखे । दलित महिला संघ जिल्ला अध्यक्ष निर्मला सुनारले सरकारी कार्यालयका सेवा सुविधामा दलित कोटामा दलित पुरुष र महिलाको कोटामा अन्य जातीका महिलाले मात्र अवसर पाएको भन्दै अव आरक्षण तोक्नुपर्ने माग राखिन् । ‘कुल जनसख्याको आठ प्रतिशत दलित महिला छन्,’ उनले भनिन्,‘ दलित महिलाका आठ प्रतिशत आरक्षण तोकेर कार्यालयले प्रदान गनुपर्छ ।’ दलित महिलाहरुले एक बर्षयता जिल्लाका सरकारी कार्यालयमा दलित महिलाका लागि छुट्टै आरक्षणका लागि बहस सुरु गरेका छन् ।
दलित महिला अगुवा मीना विकले दलित महिलाका लागि छुट्टै आरक्षणको व्यवस्था नहुँदासम्म आँफूहरुको पहुँच नपुग्ने भनिन् । छलफलमा उच्च माध्यामिक शिक्षा परिषद् कोहलपुरका प्रमुख हरिशरण वाग्लेले आफूहरुले प्रदान गर्ने सेवा भनेको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति मात्र रहेको भन्दै सबैको सहभागीता बनाईएको जनाए । सिटिभिटी क्षेत्रीय कार्यालय कोहलपुरका उपनिर्देशक प्रेम प्रसाद पोखरेलले कार्यालय अन्तर्गत प्राविधिक कलेज र छोटा अवधिका तालिममा ४० प्रतिशत सुविधा दलित आरक्षण रहेकोले दलित महिला पनि अटाएको दावी गरे । छलफलमा दलित महिलाहरुको कार्यालयका सूचना प्रवाह गर्ने कार्य प्रभावकारी नभएको गुनासो गरे ।

Tuesday, August 12, 2014

सुर्खेतका ५३ जोडीलाई प्रोत्साहन भत्ता



प्रतिमा परियार
सुर्खेत, २७ साउन ।
नेपाल सरकारले जातीय विभेद हटाउन अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति अम्लम्बन गरेपछि हालसम्म सुर्खेतमा ५३ जोडीले प्रोत्साहन भत्ता पाएका छन् । सरकारले दलित र गैरदलितबीच विवाह गर्नेलाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्न थालेपछि हालसम्म जिल्लाका ५३ दम्पत्तीले सो भत्ता बुझेका हुन् ।
दलित र गैरदलितबीचको जातीय विभेद हटाउन २०६७/६८ देखि सरकारले प्रोत्साहन रकम दिने निर्णय गरेको थियो । अन्तरजातीय विवाह गर्ने दम्पतीको नाममा संयुक्तरुपमा खाता खोली प्रति जोडी एक लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको भएपनि विगत दुई वर्षदेखि सरकारले प्रोत्साहन रकम उपलब्ध गराउन सकेको थिएन् ।
तर, यस वर्षमा भने १३ जोडीलाई प्रोत्साहन भत्ता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुई वर्षअघि प्रोत्साहन रकमका लागि कार्यालयमा निवेदन दिएका १२ र आर्थिक वर्ष २०७०/०७१ मा निवेदन दिएका एक जोडी गरी कुल १३ जोडीलाई कार्यालयले बैैंक खातामार्फत १३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराएको हो ।
प्रोत्साहन रकमका लागि आव २०६८/०६९ मा आवेदन गर्ने सात जोडी, आव २०६९/०७० मा पाँच जोडी र आव २०७०/०७१ मा आवेदन गर्ने एक जोडीलाई रकम उपलब्ध गराइएको कार्यालयका सामाजिक शाखाका खरिदार खिमा पौडेलले जनाईन् । उनले जिल्लामा बढी अन्तरजातीय विवाह हुने गरेपनि सरकारले दुई वर्ष यता निरन्तरता दिन नसकेपछि निवेदन दिनेको संख्या घटेको बताईन् । उनका अनुसार प्रोत्साहन दिने कार्यक्रम लागू भएको आर्थिक वर्ष २०६७/०६८ मा ४० जोडीले निवेदन दिएका थिए । सो आवमा निवेदन दिएका सबैलाई प्रति जोडी एक लाखका दरले ४० लाख रुपैयाँ प्रोत्साहन भत्ता वितरण गरिएको थियो ।

Monday, August 11, 2014

सामूहिक बलात्कारका आरोपीलाई कारबाहीको माग गर्दै महिला आन्दोलित



रुकुम, श्रावण २६ नेपालगञ्जस्थित बसपार्कमा एक किशोरीमाथि भएको सामूहिक बलात्कारका आरोपीहरुलाई कारबाहीको माग गर्दै रुकुमका महिलाहरु आन्दोलित भएका छन् अन्तरपार्टी महिला सञ्जालले गत श्रावण २१ गते नेपालगञ्जस्थित बसपार्कमा रोकिराखेको बसमा किशोरीलाई बलात्कार गरिएको घटनाका दोषीहरुलाई तत्काल कारबाही गर्न माग गरेको हो

घटना भएको लामो समय बितिसक्दा पनि घटनाका संलग्न केही अभियुक्तहरुलाई मात्रै पक्राउ गरेको बाँकीलाई पक्रन ढिलाइ गरेको भन्दै महिलाहरुले आज जिल्ला प्रशासन कार्यालय रुकुम यातायात व्यवसायीको कार्यालमा धर्ना दिएका हुन्


नेपाल दलित पत्रकार मञ्चको वैठक सम्पन्न



साउन २६, रुकुम । 
नेपाल दलित पत्रकार मञ्च रुकुमले खाद्य सुरक्षा सञ्जालको वार्षिक वुलेटीन प्रकाशनको अन्तीम चरणमा रहेको जनाएको छ । जिल्ला सदरमुकाम खंलगा दलित सेवा संघको कार्यालयमा  वसेकोे वैठकले वुलेटीन प्रकाशनको अन्तिम चरणमा पुगेको र छिट्टै प्रकाशन तयारीमा रहेको जनाएको छ । 
नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेल र नेपाल पत्रकार मञ्चका अध्यक्षको विशेष उपस्थितीमा वैठक सञ्चालन गरीएको थियो । 
 वैठकमा नेपाल दलित पत्रकार मञ्चको आयोजनामा जिल्ला विकास समितीको लक्षीत वर्ग अन्र्तगत को रकमवाट सञ्चालन गरेको तालिमको समिक्षा गरीएको छ । तालिम वजेट अभावमा व्यवस्थापन पक्ष केही कमजोर भएपनि समग्र रुपमा तालिम प्रभावकारी रुपमा अगाडि वढेको वैठकले निष्र्कष निकालेको छ । 
वैठकमा नेपाल दलित पत्रकार मञ्चका केही सदस्यहरुले संस्थाको नियम विपरीत सामाजिक संञ्जाल तथा सार्वजनिक रुपमा भ्रम सृजना गरेको हुदा त्यस्ता सदस्यहरुलाई सस्थाको वैठकमा   लिखीत स्पष्टीकरण माग गर्ने निर्णय पारीत गरीएको छ । वैठकमा लिखीत स्पष्टीकरण नदिए संस्थाको नियम अनुसार कारवाहि गर्ने समेत जनाएको छ । वैठकमा नेपाल दलित पत्रकार मञ्चका केन्द्रिय सदस्य तथा नेपाल दलित पत्रकार मञ्चका सहल्लाकार उपेन्द्रलाल कामी, सयुक्त दलित अधिकार मञ्चका अध्यक्ष तथा संस्थाका सल्लाहाकार पुर्णवहादुर  कसेरालगायतको उपस्थिती रहेको थियो । 

Sunday, August 10, 2014

सभाषद बि.क.को रकमले दलित वस्तीमा धारा



प्रेम सुनार
गुल्मी, साउन–२२ । आफ्नै क्षेत्रका सभाषदलाई धेरै पटक जिताए गुल्मी क्षेत्र नम्वर १ शान्तिपुरका दलितहरुले फर्केर हेरेनन् तर अर्को क्षेत्रको समानुपातिक सभाषदले रकम दिए पछि त्यहाँका दलितहरुले यसपाली घरघरमा पानी धारा पाएका छन् । गुल्मी क्षेत्र नम्वर २ की समानुपातिक सभाषद कमला बि.क.ले संसद विकास कोषबाट एक लाख रुपैयाँ दिए पछि शान्तिपुर वडा नम्वर ३ र ७ का २३ घरधुरी खाने पानीको सुविधा पाएका हुन् ।
शान्तिपुर ७ का समाज सेवी वलबहादुर नेपालीले आफ्नै क्षेत्रका सभाषदले यहाँको दलित वस्तीलाई फर्केर नहेरेको गुनासो गर्दै अर्को क्षेत्रको सभाषद बि.कले पानीको सुविधा दिएकोमा उनि प्रति आभार प्रकट गरे । उनले भने–‘ वषौं देखि आधा घण्टा भन्दा बढि समय लगाएर पानी बोकेर खानु पर्दथ्यो अहिले सभाषद बि.कले दिएको रकमले बढिमा पाँच मिनेटमा प्रत्येक घरधुरीले पानी लैजान सक्छन् , यस प्रति आभार प्रकट गर्दछौं ।’
शान्तिपुर ३ खानेपानी उपभोक्ता समितिका अध्यक्ष एमबहादुर बि.क.ले पनि सभाषद बि.क. प्रति आभार प्रकट गरे । ‘उहाँले दिएको रकले गाउँको विचमा एउटा धारा बनाएका छौं, यहाँका १० घरधुरीले खाने पानीको सुविधा पाएका छन्’–बि.कले भने –‘उहाँ प्रति आभारी छौं । ’ शान्तिपुर ७ मा १३ घरधुरीले दुई वटा धारा बनाएर पानीको सुविधा पाएको अध्यक्ष नेपालीले बताए । सभाषद बि.क.ले थोरै रकमले पनि प्रभावकारी काम गरेकोमा त्यहाँका दलित अगुवा नेपाली लगायतलाई धन्यवाद दिएकी छन् ।

Tuesday, August 5, 2014

जातिय भेदभाव न्युनिकरण गर्न वैठक


जातिय  भेदभाव न्युनिकरण गर्न वैठक
अभियान खवर
साउन २०, ।
जिल्ला प्रशासन कार्यालय रुकुममा जातिय भेदभाव तथा छुवाछुत न्युकिकरण गर्न वसेको वैठकले ५ वुदे निर्णय पारीत गदै सम्पन्न गरीएको छ ।
 प्रमुख जिल्ला अधिकारी हरीप्रसाद भण्डारीको अध्यक्षतामा वसेको वैठकले गाविस स्तरमा दलित हक, हित संरक्षण गर्नका लागि गाविस निगरानी केन्द्र गठन गर्न र दलितको नाममा   जिवीस तथा गाविसहरुले गरेको  क्रियाकलापको अभिलेख गर्न जिल्ला विकास समिती रुकुममा पठाउने निर्णय गरेको छ ।
जिल्लामा हुने सरकारी तथा गैर सरकारी कार्यालयमा  दलित सम्वन्धी  गतिवीधी तथा योजनाको  अनुगमण गर्न जिविस रुकुममा योजना प्रशासकिय अधिकृतको संयोजत्वमा ३ सदस्य अनुगमण समीति गठन गरी  योजना तथा क्रियाकलापको अनुगमण गर्ने भएको छ  । जसमा संयुक्त दलित अधिकार मञ्चका प्रमुख र महिला विकास कार्यालय रुकुमका प्रमुख सदस्य रहने निर्णयमा उल्लेख गरएिको छ ।
जातिय विभेद तथा छुवाछुत घटना तत्काल दर्ता र गरी कारवाहि गर्न जिल्ला प्रहरी कार्यालय  मातहतका प्रहरी न्युनिटहरुमा छुटै डेस्क निमार्ण गर्न जिल्ला प्रहरी कार्यालयमा अनुरोध गरएिको छ ।
नेपाल सरकारको नीति अनुरुप  दलित विद्यार्थिहरुको कक्षा १ देखी १० कक्षा सम्म निशूल्क पठन पाठनको व्यवस्थालाई  कार्यन्वयन गर्न  जिल्ला शिक्षा कार्यालय रुकुममा अनुरोध गर्ने र ११ र १२ कक्षा मा अध्यनरत दलित विद्यार्थिहरुलाई निशुलकको व्यवस्था मिलाउन उच्च माद्यामिक शिक्षा परिषद जिल्ला शिक्षाा कार्यालय मार्फत परिपत्र गरी कार्यन्वयन गर्ने जनाएको छ ।
वैठकमा स्थानिय विकास अधिकारी भरतकुमार शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना, जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख भोजराज गौतम, जिल्ला शिक्षा प्रतिनिधी तिलक गौतम, महिला विकास कार्यालय प्रमुख रमा गौतम, प्रहरी निरक्षक शिवराज खत्री, दलित अधिकार कर्मी ओपेन्द्रलाल कामी, यज्ञ वहादुर परियार, सयुक्त दलित अधिकार मञ्चका अध्यक्ष पुर्णवहादुर कसेरा, सचिव,  नवराज परियार, सदस्य गंगाराम चनारा,दलित सेवा संघका अध्यक्ष गणेश विक चिन्तन, नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेललगायतको उपस्थिती रहेका थियो ।
दलित हक अधिकार सरक्षण तथा प्रर्वद्धन गरी जातिय छुवाछुत नमुना जिल्ला वनाउन प्रत्येक महिनाको २० गते दिउसो २ ः ३०  जिल्ला प्रशासन कार्यालय रुकुममा  वैठक वस्ने प्रमुख जिल्ला अधिकारी हरीप्रसाद भण्डारीले जानकारी दिनु भयो ।


Sunday, August 3, 2014

दलित अधिकारकर्मी र विद्यालय विच अन्तक्रिया




प्रवीर ददेल
साउन १८, रुकुम । शैक्षिक क्षेत्रमा दलित समुदायको अधिकार प्रर्वदन गर्ने उद्देश्यले रुकुमको एक विद्यालयमा दलित अधिकारकर्मीहरुले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छन ।
जिल्ला सदरमुकाम खंलगा स्थित सेरीगाँउमा रहेको यमुनानन्द नमुना उच्च माद्यामिक विद्यालयमा दलित विद्यार्थिहरुको अवस्था विद्यालयले खेलेको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका हो । अन्तरक्रिया कार्यक्रममा दलित शिक्षक मञ्चका अध्यक्ष टोपराम नेपालीको अयक्षतामा दलित अभिभावक मञ्चका हरीवहादुर नेपालीले गर्नु भएको थियो ।
अन्तिरक्रिया कार्यक्रममा यमुनानन्द नमुना माद्यामिक विद्यालवाट १ कक्षा देखी १० कक्षा सम्मका १ सय १६ जना दलित विद्यार्थिहरुलाई पुर्ण रुपमा निशुल्क पठन पाठन वनाएको र कक्षा ११ र १२ का करवि ३० जना विद्यार्थिहरुलाई भर्ना निशूल्क गरेको र स्रोतको खोजि गरेर निशुलक पठनपाठनको समेत निशुल्क व्यवस्था मिलाउन पहल गरेको यमुना नन्द नमुना माद्यामिक विद्यालयका  प्रार्चाय दामोदर पौडेलले जनाए । उनले भने, हामीले सरकारी नीति अनुरुप दलित विद्र्थिहरुलाई निशुल्क पठनपाठनको व्यवस्था मिलाएका छौ । अन्तरक्रिया कार्यक्रममा दलित विद्यार्थिहरुलाई शिक्षा पहुँच विस्तार गर्न नमुनायोग्य काम गरेकोले आगामी दिनमा समेत यसलाइृ वढावा दिन अधिकारकर्मीले अनुरोध गरेका छन ।
अन्तरक्रिया कार्यक्रममा यमुना नन्द नमुना माद्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष महेन्द्रराज गौतम, प्रार्चाय दामोदर गौतम, शिक्षक वसन्त नेपाली, शिक्षक अभिभावक संघका अध्यक्ष मीनवहादुर खत्री विद्यालयको तर्फवाट दलित विद्यार्थिहरुलाई सहुलीयत दिर्ने कुरामा प्रतिवद्धता जनाउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा सयुक्त दलित अधिकार मञ्चका अध्यक्ष पुर्णवहादुर कसेरा, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय  सदस्य उपेन्द्रलाल कामी,नेपाल दलित संघका केन्द्रीय सदस्य यज्ञ, उत्पीडित जातिय मुक्ति समाजका का.वा अध्यक्ष नवराज परियार, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष मनवहादुर वादी, नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेल, दलित अभिभावक संघका अध्यक्ष रवीलाल नेपालीलगायतले रुकुममा दलित विद्यार्थिको सवाल र सरकारी नीतिको वारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रम यमुना नन्द नमुना माद्यामिक विद्यालयमा सम्पन्न गरीएको थियो ।