Thursday, November 20, 2014

जागिर खान दलितले दिएको निवेदन फिर्ता


धादिङ : दलित समुदायकी एक महिलाले जागिरका लागि दिएको निवेदन अछुत भन्दै गजुरीस्थित राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धकले फिर्ता गरिदिएका छन् । 
 
धादिङ :कार्यलय सहयोगी पदमा काम गर्न निवेदन लिएर गएकी सन्तोषी विश्वकर्माको निवेदन उनले पकाएको चिया खाजा खान नहुने भन्दै प्रबन्धक शंकरप्रसाद पौडेलले फिर्ता गरिदिएका हुन् । बैंकले कार्यलय सहयोगीको लागि निवेदन मागेको थियो । गजुरी गाविस–१ आदमारा घर भएकी सन्तोषीले आफू दलित भएकैले निवेदन नलिएका बताइन् ।
 
‘म्यानेजरले तिमी दलित रहिछौ । हामीकहाँ कार्यलय सहयोगीले चियाखाजा पनि पकाउनु पर्छ । मैले दलितले पकाएको खाने गरेको छैन भनेर फर्कादिए’ सन्तोषीले भनिन्, ‘धितो लिएर आऊ, सहुलियतमा ऋण दिउँला । त्यसबाट आम्दानी गर्न सजिलो हुन्छ भनेर निवेदन नै लिएनन् ।’
 
कातिक ३० मा निवेदन लिएर बैंकमा गएकी सन्तोषी दलित भएकै कारण बैंकले निवदेन नलिएपछि न्याय खोज्दै दलित अधिकारकर्मीकहाँ पुगेकी छन् । 
 
सन्तोषी सम्पर्कमा आएपछि जिल्ला प्रहरी कार्यलयमा जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐन ०६८ वमोजिम कारवाही माग गर्दै मंगलबार ठाडो निवदेन दिइएको दलित अधिकारकर्मी श्याम मगरातीले जानकारी दिए । 
 
‘दलित महिलालाई सार्वजनिक पदका म्यानेजरले दलित भएकै कारण निवदेनै नलिएको घटना निन्दनीय छ’, उनले भने, ‘कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यलयमा ठाडो उजुरी दिएका छौं ।’
 
पीडित पक्षको निवेदनपछि प्रबन्धक पौडेललाई सात दिनभित्र जिल्ला प्रहरी कार्यलयमा उपस्थित भई छलफल गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यलय मुद्धा शाखाका प्रहरी निरीक्षक वासुदेव थापाले जातीय विभेदको विषयमा ठाडो उजुरी परेको जनाउँदै दुवैपक्षलाई ६ गते बोलाएर छलफल गराउने बताए । 
 
६ वर्ष अघि सन्तोषीका पतिको मृत्यु भएको थियो ।  आर्थिक अवस्था कम्जोर भएकी सन्तोषीले एकमात्र छोरीलाई गजुरीकै एक समाजसेवीको सहयोगमा जगदम्वा बोर्डिङमा पढाइरहेकी छिन् ।
 
यसअघि केही दिनअघिमात्र गजुरी गाउँ विकास समितिकै उज्यालो गाँउमा दलित महिलाले पालेको गाईको दूध नविकेको घटना सार्वजनिक भएको थियो ।
- See more at: http://annapurnapost.com/News.aspx/story/2727#sthash.wij4UOSJ.WQ6DKb1S.dpuf

No comments:

Post a Comment