Friday, March 21, 2014

विकासले रुकुमको मुहार फेरियो

होम|विकास| प्रविर ददेल July 25, 2013 Views: 171 आवश्यक पूर्वाधारको विकास हुन थालेपछि रुकुमको मुहार फेरिन थालेको छ । विकासको पहिलो खुड्किलो मानिने सडक दुर्गम गाविसहरूमा विस्तार हुने क्रम बढेको छ । सशस्त्र द्वन्द्वप्रभावित रुकुममा २०६२/६३ को जनआन्दोलनसँगै शान्ति स्थापनापछि आर्थिक विकास पनि हुन थालेको छ । विकासको पहिलो आधार भन्दै गाउँगाउँमा सडक विस्तारको लहर चलेको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर पहल पुन बताउँछन् । अहिले जिल्लाका ४३ गाविसमध्ये ३८ गाविसमा सडक सञ्जाल पुगिसकेको छ । पछिल्लो समयमा व्यापार–व्यवसाय र उद्योगहरूमा पनि लगानी बढ्न थालेको छ । जिल्लामा सञ्चालित साना उद्योग विकासका लागि ४ करोड रुपैयाँ लगानी भएको छ । राजधानीसँगै पूर्वपश्चिम जोड्ने नेपालको एक मात्र फाष्टट्र्याक मध्यपहाडी लोकमार्गले जिल्लामा विकासको ढोका खोलेको छ । मध्यपहाडी लोकमार्गको करीब १ सय ४३ किलोमिटर सडक रुकुममा पर्ने पुनले जानकारी दिए । शहरी विकास कार्यक्रमले योजना बनाएको नेपालका उत्कृष्ट १० शहरमध्येको अग्रसूचीमा रुकुमको प्रमुख व्यापारिक केन्द्र चौवरजहारी परेको छ । यसलाई रुकुम विकासको गतिलो आधारका रूपमा रुकुमवासीले लिएका छन् । रुकुममा बढेको आर्थिक विकाससँग सदरमुकाम र व्यापारिक केन्द्रहरूमा जग्गाको मूल्य पनि बढ्न थालेको छ । अहिले सदरमुकामवरपर प्रतिमिटर २ लाख रुपैयाँसम्ममा जग्गा विक्री भइरहेको स्थानीयवासीहरू बताउँछन् । जिल्लामा सञ्चालित बैङ्कहरूमा दैनिक ५ करोड रुपैयाँसम्मको कारोबार हुने नेपाल बैङ्क लिमिटेडका प्रबन्धक ठाकुरसिंह डाँगीले बताए । त्यस्तै रुकुममा ढोरपाटन शिकार आरक्षण हुँदै खलङ्गा आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएकोे जिल्ला पर्यटन विकास समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए । रुकुमका ६५ सानाठूला खोलामा सर्वेक्षण गरी विद्युत् सेवा विस्तार कार्यक्रम सञ्चालन हुँदै आएको रुकुम उज्यालो कार्यक्रमका प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिएका छन् । त्यस्तै, नेपाल टेलिकम, एनसेल र हेल्लो नेपाल कम्पनीले सञ्चारक्षेत्रमा लगानी विस्तार गरेका छन् । टेलिकम रुकुमका अनुसार जिल्लामा ३५ हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता रहेका छन् । विगतका वर्षमा उच्चशिक्षाका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका रुकुमवासीले अहिले घरआँगनमै उच्चशिक्षा पाउने गरेका छन्, जसले गर्दा सारक्षरता दरमा पनि वृद्धि भएको छ । जिल्लामा ३ सय ९८ ओटा प्रावि, १ सय ३१ ओटा निमावि, ७० ओटा मावि, २१ ओटा उच्चमावि र चारओटा क्याम्पस रहेको जिल्ला शिक्षा कार्यालय रुकुमले जानकारी दिएको छ । २ लाख ९३ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमा फैलिएको रुकुमको जनसङ्ख्या २ लाख ८ हजार ५ सय ६७ रहेको २०६८ सालको जनगणनाले देखाएको छ । तीमध्ये ४५ प्रतिशत जनसङ्ख्या मात्र साक्षर रहेको तथ्याङ्कमा उल्लेख छ ।

No comments:

Post a Comment