Tuesday, August 12, 2014

सुर्खेतका ५३ जोडीलाई प्रोत्साहन भत्ता



प्रतिमा परियार
सुर्खेत, २७ साउन ।
नेपाल सरकारले जातीय विभेद हटाउन अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति अम्लम्बन गरेपछि हालसम्म सुर्खेतमा ५३ जोडीले प्रोत्साहन भत्ता पाएका छन् । सरकारले दलित र गैरदलितबीच विवाह गर्नेलाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्न थालेपछि हालसम्म जिल्लाका ५३ दम्पत्तीले सो भत्ता बुझेका हुन् ।
दलित र गैरदलितबीचको जातीय विभेद हटाउन २०६७/६८ देखि सरकारले प्रोत्साहन रकम दिने निर्णय गरेको थियो । अन्तरजातीय विवाह गर्ने दम्पतीको नाममा संयुक्तरुपमा खाता खोली प्रति जोडी एक लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको भएपनि विगत दुई वर्षदेखि सरकारले प्रोत्साहन रकम उपलब्ध गराउन सकेको थिएन् ।
तर, यस वर्षमा भने १३ जोडीलाई प्रोत्साहन भत्ता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुई वर्षअघि प्रोत्साहन रकमका लागि कार्यालयमा निवेदन दिएका १२ र आर्थिक वर्ष २०७०/०७१ मा निवेदन दिएका एक जोडी गरी कुल १३ जोडीलाई कार्यालयले बैैंक खातामार्फत १३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराएको हो ।
प्रोत्साहन रकमका लागि आव २०६८/०६९ मा आवेदन गर्ने सात जोडी, आव २०६९/०७० मा पाँच जोडी र आव २०७०/०७१ मा आवेदन गर्ने एक जोडीलाई रकम उपलब्ध गराइएको कार्यालयका सामाजिक शाखाका खरिदार खिमा पौडेलले जनाईन् । उनले जिल्लामा बढी अन्तरजातीय विवाह हुने गरेपनि सरकारले दुई वर्ष यता निरन्तरता दिन नसकेपछि निवेदन दिनेको संख्या घटेको बताईन् । उनका अनुसार प्रोत्साहन दिने कार्यक्रम लागू भएको आर्थिक वर्ष २०६७/०६८ मा ४० जोडीले निवेदन दिएका थिए । सो आवमा निवेदन दिएका सबैलाई प्रति जोडी एक लाखका दरले ४० लाख रुपैयाँ प्रोत्साहन भत्ता वितरण गरिएको थियो ।

No comments:

Post a Comment