Friday, August 15, 2014

छुट्टै आरक्षण माग्दै दलित महिला



टेकेन्द्र बस्याल
बाँके, साउन २१ ।
सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुविधा दलित महिलामैत्री नभएको भन्दै जिल्लामा दलित महिलाले सरकारी कार्यालयमा छलफल सुरु गरेका छन् । कार्यालयले प्रदान गर्ने आरक्षणमुखी सेवा सुविधामा दलित महिला अटाउन नसकेको भन्दै उनीहरुले विशेष व्यवस्थाको माग राखेका छन् । विकासे र जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयका सेवा सुविधा, आरक्षणको बाँडफाडको अवस्था अध्ययन गर्दै उनीहरुले दलित महिलाका लागि छुट्टै आरक्षण हुनुपर्ने अडान राखेका छन् ।
दलित महिला संघको अगुवाईमा उच्च मावि शिक्षा परिषद् र क्षेत्रीय सिटिभिटी कार्यालयमा पुगेर उनीहरुले महिला र दलितभित्र आफूहरु नअटाएको भन्दै दलित महिलामैत्री आरक्षणको माग राखे । दलित महिला संघ जिल्ला अध्यक्ष निर्मला सुनारले सरकारी कार्यालयका सेवा सुविधामा दलित कोटामा दलित पुरुष र महिलाको कोटामा अन्य जातीका महिलाले मात्र अवसर पाएको भन्दै अव आरक्षण तोक्नुपर्ने माग राखिन् । ‘कुल जनसख्याको आठ प्रतिशत दलित महिला छन्,’ उनले भनिन्,‘ दलित महिलाका आठ प्रतिशत आरक्षण तोकेर कार्यालयले प्रदान गनुपर्छ ।’ दलित महिलाहरुले एक बर्षयता जिल्लाका सरकारी कार्यालयमा दलित महिलाका लागि छुट्टै आरक्षणका लागि बहस सुरु गरेका छन् ।
दलित महिला अगुवा मीना विकले दलित महिलाका लागि छुट्टै आरक्षणको व्यवस्था नहुँदासम्म आँफूहरुको पहुँच नपुग्ने भनिन् । छलफलमा उच्च माध्यामिक शिक्षा परिषद् कोहलपुरका प्रमुख हरिशरण वाग्लेले आफूहरुले प्रदान गर्ने सेवा भनेको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति मात्र रहेको भन्दै सबैको सहभागीता बनाईएको जनाए । सिटिभिटी क्षेत्रीय कार्यालय कोहलपुरका उपनिर्देशक प्रेम प्रसाद पोखरेलले कार्यालय अन्तर्गत प्राविधिक कलेज र छोटा अवधिका तालिममा ४० प्रतिशत सुविधा दलित आरक्षण रहेकोले दलित महिला पनि अटाएको दावी गरे । छलफलमा दलित महिलाहरुको कार्यालयका सूचना प्रवाह गर्ने कार्य प्रभावकारी नभएको गुनासो गरे ।

No comments:

Post a Comment