Monday, August 25, 2014

इनार र धारा छुनसमेत पाउँदैनन् डोम समुदाय


पैसा दिएर पानी भर्न लगाउनुपर्छ
सिराहा : लालपुरका डोम (मल्लिक) परिवारले अझै पनि पानी भर्न धारा र इनार प्रयोग गर्न पाउँदैनन्। कसैले दया गरेर भरिदिए मात्रै उनीहरूले पानी पाउँछन्। गाउँकै देवनाथ साहको इनारमा राखेको मोटरबाट दयामायाले पानी पाउने गरेको लालपुर १ का दुर्गी मल्लिकले बताए। उनले भने, ‘साहका परिवारले पानी भरिदिनुहुन्छ। त्यही पानीले काम चलाउँदै आएका छौं। त्यहाँ पनि हामीले इनार र मोटर भने छुन पाउँदैनौं।’
पानी दिएबापत महिनाको दुई सय ५० रुपैयाँ साहलाई बुझाउने गरेको दुर्गीले बताए। उनले भने, ‘घरनजिक अर्को इनार भए पनि हामीले त्यहाँबाट पानी तान्न पाउँदैनौं। इनारवरपर कोही ‘माथिल्लो’ जातका भए पानी भरिदिन अनुरोध गर्छौं, नभए ‘ठूला’ जातका केटाकेटीलाई पाँचदस रुपैयाँ दिएर पानी भर्न लगाउँछौं।’
पाँच वर्षअघिसम्म दहको पानी पिउँदै आएका डोम परिवारका सदस्यहरूलाई २०५५ सालमा फन्ड बोर्ड काठमाडौंले इनार दिएपछि त्यही इनारको पानी प्रयोग गर्दै आएका थिए। तर दुई वर्षदेखि इनारको पानी पनि सुकेपछि समस्या झेल्नुपरेको उनीहरूले बताए।
त्यसैगरी लालपुर ४ का धनेशर मल्लिकका परिवारले पनि यस्तै समस्या भोग्दै आएका छन्। उनको आफ्नै आँगनमा इनार थियो तर अहिले इनार सुकेपछि पानीको समस्या झेल्नुपरेको छ। इनार सुकेपछि गाउँका अरू इनारमा गएर कसैले भरिदिएमात्र आफूले पानी पाउने धनेशरले बताए। उनले भने, ‘अरूतिर केके भइसक्यो तर हामी यो ठाउँमा इनार छुनसम्म पाउँदैनौं। हाम्रो समस्या कसले सुनिदिने?’
‘अहिले खानेपानीको धारा घरमै जडान गरेको छु’, धनेशरले भने, ‘तर कहिलेकहीं धारामा पानी नआउँदा एक भाँडो पानी कसले भरिदेला भनेर बस्नुपर्ने बाध्यता छ।’ धनेशरको परिवारले पनि आफ्नो घरको इनार र धाराबाहेक गाउँको कसैको इनार र धारा छुन पाउँदैनन्।
उनले भने, ‘चारपाँच वर्षअघि पानी भर्दा इनार छोएको निहुँमा बुबालाई गाउँलेले पाता कसेर कुटपिट गरी जरिबाना गरेपछि इनार र धारा छुने हिम्मत आएन।’ यता अयोध्यानगरका कामेश्‍वर मल्लिकले भने आफ्नो गाउँमा सँगै पानी भर्न नपाए पनि पालो कुरेर इनारमा पानी भर्न दिने गरेको बताए। उनले भने, ‘हाम्रो गाउँमा पनि पहिला यस्तै थियो। छलफलपछि अहिले इनारमा आफैंलाई पानी भर्न दिने गरिएको छ।’
सिराहामा अल्पसंख्यक मल्लिकको जनसंख्या करिब तीन हजार छ। उनीहरू सबैले यो समस्या झेल्दै आएको मरिकका अगुवा रामचन्द्र मरिकले बताए। उनका अनुसार सिराहामात्र हैन, तराईमा रहेका सबै मल्लिकले यो समस्या झेलिरहेका छन्।
उनले भने, ‘जुनसुकै व्यवस्था आए पनि दलितमा अति पिछडिएका मरिकले पिउने पानी भर्नसमेत पाउँदैनन्।’ मरिकले समाजमा आत्मसम्मानपूर्वक घुलमिल हुने स्थिति अझै बनेको छैन। गाउँमै भएको खानेपानीको स्रोत सार्वजनिक इनार उपभोग गर्न पाएमात्र छुवाछूत हटेको मान्‍न सकिने उनले बताए।
दलित अधिकारका लागि संघर्षरत अधिकारकर्मी विनोद बिसुन्केले भने, ‘दुर्गी र उनको परिवारले पोखरीको फोहोर पानी पिएको देखेर गैससले इनार त बनाइदियो। तर दुर्गी नेपाल राज्यको संविधान, प्रचालित कानुन र अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको अधिकार समान हुन पाउने र आत्मसम्मान पाउने हकबाट वञ्‍चित छिन्।’
दलितमध्ये पनि तराईमा डोम जातिलाई बढी अछूत मानिन्छ। सिराहा र सप्तरीमा मात्र करिब सात सय परिवार डोमको बसोबास छ।
(source:annapurnapost.com)

No comments:

Post a Comment